फागुन महिनामा लक्ष्य भन्दा करीब चार प्रतिशत बढी राजस्व संकलन
शेखर छतकुली
बीरगंज चैत्र ८ गते
वीरगंज भंसार कार्यालयले फागुन महिनामा लक्ष्य भन्दा करीब चार प्रतिशत बढी राजस्व संकलन गरेको छ । यो भंसारले यस महिनामा तीन अर्ब २६ करोड ५३ लाख रुपैया राजस्व संकलन गरेको छ । फागुन महिनामा तीन अर्ब २६ करोड ५३ लाख रुपैया राजस्व संकलन गर्ने लक्ष्य यो भंसारको थियो ।
सवारी साधन र ईन्धनको आयात अनुमान गरे अनुरुप भए पछि लक्ष्यको हाराहारीमा राजस्व संकलन गर्न सफलता मिलेको वीरगंज भंसार प्रमुख केवल भण्डारीले बताएका छन् । फागुन महिनामा संकलित राजस्वमा भन्सार तर्फ एक अर्ब २५ करोड रुपैया राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा करीब ९६ प्रतिशत अर्थात एक अर्ब १९ करोड रुपैया राजस्व संकलन भएको छ ।
त्यसैगरी मूल्य अभिवृद्धि करबाट एक अर्ब ४१ करोड रुपैया राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा करीब शत प्रतिशत अर्थात एक अर्ब ४२ करोड रुपैया राजस्व संकलन भएको छ । अन्तशुल्क वापत ४७ करोड ६६ लाख रुपैया राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा करीब २५ प्रतिशत बढी ५९ करोड ७६ लाख रुपैया राजस्व्ा संकलन भएको छ । त्यसैगरी अन्य शिर्षकहरुबाट पाच करोड १५ लाख रुपैया राजस्व संकलन भएको छ ।
गत आर्थिक बर्षको फागुन महिनामा यो भंसारले दुई अर्ब ६९ करोड रुपैया मात्र राजस्व संकलन गर्न सकेको थियो । जुन लक्ष्यको तुलनामा करीब १४ प्रतिशत बढी थियो । त्यस अवधिमा यो भंसारले दुई अर्ब ३८ करोड रुपैया राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । कूल संकलित राजस्वमा भन्सार शुल्कबाट ९८ करोड रुपैया मूल्य अभिवृद्धि करबाट एक अर्ब २१ करोड रुपैया अन्त शुल्कबाट ३३ करोड ४६ लाख रुपैया र अन्य शिर्षकबाट १५ करोड रुपैया राजस्व संकलन भएको थियो ।
मुलुक भरीका भंसार कार्यालयहरु मध्ये वीरगंज भंसार कार्यालयले सबैभन्दा बढी राजस्व संकलन गर्ने गर्द छ । यस बर्ष फागुन महिनामा लक्ष्यको हाराहारीमा राजस्व संकलन गर्न सफल भए पनि मुलुकको सबै भन्दा बढी आर्थिक कारोबार हुने वीरगंज भंसार कार्यालयको आर्थिक कारोबार भने उत्साहजनक नरहेको भंसार प्रमुख भण्डारी बताउछन् ।
विश्व आर्थिक मन्दी निजी बैंकहरुले सवारी साधन तथा घर जग्गामा लगानी गर्न बन्द गर्दा तथा भारुको कारोबारमा गरीएको कडाई लगायतका कारण वीरगंज नाकाबाट आर्थिक कारोबार प्रभावित भएको छ । यसबाट मुलुकको सबै भन्दा बढी आयात निर्यात हुने वीरगंज भन्सारको आर्थिक कारोबारनै घटदै गएको भण्डारी बताउछन् ।
मुलुकको सबै भन्दा बढी राजस्व संकलन गर्ने यो भंसारको राजस्व असुली पनि प्रभावित हुन थालेको छ । हालको महिनामा यो भंसारले लक्ष्य अनुरुप मात्र नभई त्यो भन्दा धेरै बढी राजस्व संकलन गर्नु पर्नेमा राजस्व वृद्धि दर बढन नसकेको उनले बताए ।
बर्षेनी माघ देखी चैतको महिनामा यो नाका हुदै आयात निर्यात उच्च रहने गरेकोमा यो बर्ष आयात निर्यात कम भएबाट भंसार क्षेत्र तथा भंसार यार्ड खाली खाली देखिन थालेको छ । भंसार यार्ड हाल सवारी साधन र मालबाहक ट्रकहरुले भरीभराउ हुनु पर्ने थियो ।
अघिल्लो बर्षहरुको अनुपात हेर्दा फागुन महिनामा यो भंसारले लक्ष्य भन्दा करीब २० प्रतिशत बढी राजस्व्ा संकलन गर्नु पर्ने भण्डारीको भनाई छ । चालु आर्थिक बर्षमा वीरगंज भंसारले ३८ अर्ब रुपैया राजस्व संकलन गर्ने लक्ष्य पाएको छ । आयात निर्यात गतिबिधि निर्वाध रुपमा चले यो भंसारले चालु आर्थिक बर्षमा ४६ अर्ब रुपैया सम्म राजस्व सहजै संकलन गर्न सक्थ्यो ।
हाल बैंकहरुले माईक्रो बस तथा अन्य हलुका सवारी साधनमा लगानी गर्न छोडेकाले सीमावर्ती रक्सौल बजारमा ठूलो संख्यामा सवारी साधन आएर रोकिएका छन् । आयातकर्ताहरुले पहिलेनै ति गाडी बुक गरी सकेकाले सीमा सम्म आए पनि बैंकहरुले फाईनान्सनै नगरे पछि ती सवारी साधनहरु भंसार जाचपास प्रकृयाका लागि भित्रिन नसकेका हुन् । त्यसैगरी लोड सेिडंग लगायतका कारण उद्योगहरु पूर्ण क्षमतामा संचालन हुन नसकेकाले औद्योगिक कच्चा पदार्थको आयातमा समेत कमी आएर भन्सारको राजस्व असूलीमा प्रभाव पारेको भण्डारी बताउछन् ।
बैंकहरुले भारुको ड्राफ्टमा पनि कडाई गरेकाले वीरगंज भंसारको लोकल शाखा मार्फत हुने दैनिक आयात समेत घटदै गएको भण्डारी बताउछन् ।
0 comments:
